मैले घुम्न भ्याएका राष्ट्रहरूमध्ये मलाई बडो खास लागेका १० राष्ट्रहरू

यतिका देशहरू घुमिसक्दा पाठक वर्गहरूमा एउटा लेख प्रस्तुत गर्न खोजेको पनि धेरै समय भएछ। आज एउटा राष्ट्र, भोलि अर्को! कहिलेकाही त बसेर लेख्ने समय पनि पाउँदिन।तर आज भने समय नै निकालेर लेख्न बस्ने जमर्को गरे। पुगेका देशहरु मध्ये मलाई सबैभन्दा मन परेका १० राष्ट्रहरूका बारेमा लेख्दैछु। अझै धेरै राष्ट्र पुग्न बाँकी नै छ, त्यसैले यो सूची पछि परिवर्तन हुन पनि सक्छ।  हुन त हरेक देशको आफ्नै छुट्टै मौलिक पहिचान हुन्छ, र एउटा राष्ट्रलाई अर्को राष्ट्रसँग दाँज्न निकै मुस्किल पनि हुन्छ। कतैको रहनसहन निकै लोभ लाग्दो हुन्छ भने,  कतैको भौगोलिक परिवेश कुनै देशको खानकीले मन छुन्छ भने कुनैको प्राकृतिक सुन्दरताले। 

तैपनि आजसम्म मैले घुम्न भ्याएका राष्ट्रहरूमध्ये मलाई बडो खास लागेका १० राष्ट्रहरूका बारेमा लेख्न गइरहेको छु। १० वटा नै किन भनेर सोध्नुहोला? यसको ठ्याक्कै उत्तर भने मसँग छैन। 

 

  1. जापान:

 जापानको बारेमा एउटा छुट्टै किताबै निकाले पनि सबै कुरा वर्णन गर्न मुस्किल पर्छ। किनकि जापान धेरै कुरामा धनी छ।  घुम्नका लागि भने जापान पुग्न त्यति गाह्रो छैन भिसा र अध्यागमन दुवैको प्रक्रिया निकै सजिलो थियो। जापानमा कामका सिलसिलामा पुग्ने नेपालीहरू पनि धेरै नै छन्त्यसैले जहाजमा र अध्यागमन विभागमा नेपालीहरूसँग भेट भइ नै हाल्छ, केही सहयोग चाहिए सजिलै  हुन्छ। जापानको सबैभन्दा लाग्दो कुरा यस राष्ट्रले गरेको प्राविधिक विकास होला। टेक्नोलोजीका हिसाबमा जापान धेरै अगाडि छ। अनि सहरहरु पनि अति नै व्यवस्थित|  बाटोघाटो,  सडक,  भवनहरु,  सबै अत्याधुनिक। जापानका लगभग सबै भवनहरू भूकम्प प्रतिरोधी पनि छन्। हामी नेपालीहरूले जापानबाट सिक्नुपर्ने कुराहरू धेरै छन्। 

मलाई सबैभन्दा अचम्म लागेको चाहिँ यहाँको मेट्रो सिस्टम। टोकियो र Kyoto  जस्ता अति विकसित सहरमा मेट्रोको विकास अचम्मित पार्ने खालकै छ। विश्वका २० सबैभन्दा व्यस्त ट्रेन स्टेसनहरू सबै जापानमा नै पर्ने रहेछन्। तैपनि यी सबै ट्रेनको आवतजावत व्यवस्थित नै छ।

अग्लाअग्ला भवनका बीचमा पनि जापानवासीहरूले हरियालीलाई मर्न दिएका रहेनछन्पार्क र रूखबिरुवाहरू पनि प्रशस्तै,  प्रविधि र प्रकृति दुवैको संगमस्थल हो जापान। अघि भनेजस्तै जापानका विषयमा त एउटा किताब नै लेख्न सकिन्छ। यहाँको खाना पनि उत्तिकै मिठोनेपाली जिब्रो भन्दा अलिक भिन्न भएपनि मलाई चाहिँ यहाँको खानकी निकै मनपर्यो। दाल भात खान मन लागे पनि नेपाली रेस्टुरेन्टहरू पनि धेरै नै रहेछन्। 

2. इरान

  इरानसँग पर्यटकहरुमाज  पस्कनलाई  धेरै कुरा छ। यस देशको  जस्तो इतिहास सायदै अरु  कतै अनुभव गर्न पाइएला| सांस्कृतिक हिसाबले पनि इरान निकै धनी छ।  प्राकृतिक सुन्दरताको त झन् के कुरा गरौं।  इरानका मानिसहरू पनि निकै सहयोगी, आतित्यथामा निपूर्ण| कलाका हिसाबले पनि इरान बडो मनोरम लाग्यो।  यहाँका मस्जिदहरू मा पुग्दा अर्कै कुनै ग्रहमा पुगेको आभास हुन्थ्यो।मस्जिदका भित्तामा कोरिएका चित्रहरू हेर्दा छक्क परे। कति धेरै मस्जिदहरू त बाह्रौं शताब्दीमा बनेका रहेछन्।  त्यसबेला  बनाइएका मस्जिदहरु पनि कति सुन्दर

इरान घुम्नु त्यति महँगो छैन खान बस्न र घुम्न सबै सस्तो नै लाग्योहुन त घुम्ने खर्च आफूमा भर पर्ने कुरा हो। तपाईं कस्तो ठाउँमा बस्न मन पराउनुहुन्छ के खान मन पराउनुहुन्छ जस्ता कुराले नै तपाईंको खर्च निर्धारण गर्ने हुन्।  मलाई खानाको भने निकै शोक छ। इरान पुग्दा जिब्रोले मिठो स्वाद लिन पायो। इरानको कफी खाने चलन पनि  सम्झिन लायक नै रहेछ।

भिसाको प्रक्रिया पनि निकै सरल नै छ। एयरपोर्ट मा नै On Arrival भिजा लिँदा पनि भयो होइन भने इरानको आफ्नै Online E-Visa System पनि रहेछहोटल र फ्लाइट टिकटहरू भने अनलाइन भेट्न अलि गाह्रो जस्तो छ। यदाकदा  ट्राभल कम्पनीहरू पनि भेटिन सक्छन्इरान पुग्नुअघि नै सबै बन्दवस्त मिलाएको राम्रो हुने रहेछ। होटलहरु पनि  राम्रा  नै छन्। 

3. न्यूजिल्यान्ड

पूर्वी एसिया, अस्ट्रेलिया र ओसनियामा पर्ने न्युजिल्यान्ड सकेसम्म पुग्नै पर्ने गन्तव्यहरु मध्यको एक हो। शान्त वातावरण हरियाली प्राकृतिक सौन्दर्य डाँडाकाँडा –  न्युजिल्याण्डसँग यी सबै कुरा  छन्। कता कता नेपालको र न्युजिल्याण्डको  भू-परिवेश एकै किसिमको भएको आभास गरे। न्युजिल्यान्डमा पनि टन्नै नेपालीहरू छन्। विशेषत उच्च शिक्षा हासिल गर्न पुगेका  युवाहरू बढी भए जस्तो लाग्यो| कहीँ कतै सहयोग चाहिहाले नेपालीहरू भेटिनै हाल्ने रहेछन्। न्युजिल्यान्डको माउन्ट रोहिङ्गा विश्वमा नै निकै प्रसिद्ध रहेछ। 

साहसिक पर्यटकीय गन्तव्यहरू पनि निकै रमाइलो लाग्यो। हाइकिङ, ट्रेकिङ, क्याम्पिङ  आदि इत्यादि| समुद्री तटमा माछा मार्ने अथवा पौडी खेल्नेदेखि हरिया डाँडापाखामा अंगुर खेती  निहाल्ने सम्म –   न्युजिल्यान्डमा रमाइलो गर्नका लागि अनगिन्ती कुराहरू रहेछन्। तपाईँलाई समुद्रको किनारमा बसेर  मनमोहक दृश्य हेर्न मन छ भने न्युजिल्याण्डमा छुटाउने नहुने गन्तव्य रहेछ –  बे अफ आइल्यान्ड (Bay of Islands)। अङ्गुर खेती पनि निकै रमाइलो लाग्यो,  र यही अङ्गुरबाट बन्ने वाइन पनि उत्तिकै विशेष। अङ्गुर जस्तै किवी खेती पनि  प्रशस्तै देखिने रहेछ। हुन त आजकल नेपालमा पनि क्युए पाइन थालेको छ,  तर न्युजल्याण्डको किवीको स्वाद नै बेग्लै।

न्युजिल्यान्डको घुम्न भने कम्तीमा एक महिना समय लाग्ने जस्तो लाग्यो। हुन त त्यति लामो समय घुम्नका लागि आर्थिक रुपमा पनि सबल नै हुनुपर्छ।न्युजिल्यान्डमा बस्न खान पनि निकै सहज छ,  अकल्यान्डमा  पाँच तारे होटेलदेखि सस्तो होटेलसम्म सबै पाइने रहेछन्।न्युजिल्यान्डको पुग्नुअघि नै भिसा लिनु जरुरी छ।  भिसा लिने प्रक्रिया  भने तपाईँ कुन देशमा हुनुहुन्छ  त्यसमा भर पर्छ।  तपाईँ भएको देशमा न्युजिल्यान्डको आधिकारिक एम्बेसी भएमा सोही एम्बेसीबाट भिजा लिँदा भयो,  अथवा कन्सुलेट अफिसले जारी गरेको भिसा भएपनि पुग्छ।  नेपालका लागि न्युजल्यान्डको कन्सुलेट अफिस महाराजगञ्जमा छ।

4. ग्वाटेमाला

मध्य अमेरिकामा पर्ने ग्वाटेमाला घुम्दा छुट्टै अनुभव गर्न पाएँ। अरुहरु देशभन्दा निकै भिन्न छ ग्वाटमाला। विशेषत माया सभ्यता, प्राचीन महलहरू, प्राकृतिक सौन्दर्य, ऐतिहासिक धरोहरका लागि प्रसिद्ध ग्वाटेमालाका मानिसहरूको आतिथ्य सत्कार पनि अद्वितीय लाग्यो। ग्वाटेमालामा देखिने माया सिभिलाइजेसनका अवशेषहरूहरूले तपाईँलाई अचम्मित तुल्याउने छन्। त्यति पुरानो समयमा पनि यस किसिमका भौतिक संरचनाहरू कसरी तयार भए होलान् भनेर म पनि छक्क परेको थिए। 

यसका अलावा यस देशका समुद्रीय तथा पर्वतीय क्षेत्रहरू पनि उत्तिकै अविस्मरणीय छन्। घुम्नका लागि  ग्वाटमालामा अनेकन क्षेत्रहरू रहेछन्। चिडियाखाना देखि ज्वालामुखीसम्म, हरियाली वन जङ्गलदेखि प्राचीन सहरहरूसम्म।ग्वाटेमाला प्रवेश गर्न भिसा प्रक्रिया अत्यन्त सजिलो र सहज थियो। खर्चका हिसाबले पनि त्यति खर्चिलो लागेन। होटल, खाना र अन्य आवश्यकताहरू त्यति खर्चिलो छैन

 

5.पोर्चुगल

दक्षिण पश्चिम युरोपमा पर्ने  पोर्चुगलका विषयमा नसुन्ने सायदै कोही होलान्। सम्भवत धेरैजसो नेपालीले पोर्चुगललाई प्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोको देशका रुपमा चिनेका छौं। तर पोर्चुगलको पहिचान यतिमा मात्रै सीमित भने छैन। पोर्चुगल पुग्दा मैले एक अद्भुत सांस्कृतिक अनुभूति गर्न पाएँ।  ऐतिहासिक र सांस्कृतिक हिसाबले पोर्चुगलकै समृद्ध रहेछ। प्राचीन सहरहरू, बाटाघाटा, मठमन्दिर र अरु धेरै ऐतिहासिक धरोहरहरु साँच्चिकै लोभ लाग्दा छन्।

 

नेपालीहरू सबैलाई पोर्चुगल पुग्न भिसाको आवश्यकता पर्छ।भिसा प्रक्रिया भने निकै सहज छ। अनलाइनबाट नै  भिसा आवेदन दिन सकिन्छ। पर्यटकहरूका लागि विशेष Schengen भिसाको चलन रहेछ।  यो भिसा Schengen क्षेत्रमा पर्ने सबै राष्ट्रहरूका लागि पर्याप्त पनि रहेछ।पोर्चुगल पुग्दा छुटाउने नहुने प्रमुख पर्यटकीय स्थलहरूमा लिसबन, पोर्टो, सिन्द्रा, आदि पर्ने रहेछन्। मलाई सबैभन्दा मनपरेको चाहिँ लिसबन सिटी। यहाँको प्राचीन सभ्यता, अत्यन्तै सुन्दर वास्तुकला,  जीवन्त वातावरण, सबैले लिसबनलाई पुग्नैपर्ने गन्तव्यकै रुपमा अघि सारेको अनुभूत भयो

6. बोलिभिया

पर्यटकीय हिसाबले बोलिभिया पुग्न निकै सजिलो छ। नेपालीहरूका लागि बोलिबियामा अनअराइभल भिसाको सुविधा रहेछ। नेपाललाई अनअराइभल भिसा दिने निकै थोरै देशहरु मात्र छन्। त्यसैले यसरी अनअराइभल भिसा पाउँदा अलिक छुट्टै आभास हुने।  भिसाको अनलाइन आवेदन पनि पाइने रहेछ तर सो आवेदन फारम निकै झन्झटिलो लाग्यो। कति धेरै कुराहरु spanish भाषामा मात्रै लेखिएको हुने रहेछ।

दक्षिण अमेरिकामा पर्ने बोलिभियामा घुम्नका लागि अनेकन गन्तव्यहरू छन्। अमेजन फरेस्ट, उच्च पर्वतीय श्रृङ्खलाहरू, साल्ट लेकहरू र अरु पनि धेरै।विविधताले भरिपूर्ण बोलिबिया भ्रमण गर्दा प्राकृतिक सौन्दर्य र ऐतिहासिक स्थल सबैको एकै साथ दृश्यावलोकन गर्न पाइन्छ।  छुटाउनै नहुने गन्तव्यहरुमा Salar de Uyuni, La Paz, Madidi राष्ट्रिय निकुञ्ज आदि पर्छन्। 

7. भियतनाम

दक्षिण पूर्वी एसियामा पर्ने भियतनाम सायद धेरैजनाको बकेट लिस्टमा पर्दैन। तर मलाई भने निकै पहिलेदेखि नै भियतनाम घुम्ने रहर थियो।  भियतनाम पुग्दा कल्पना गरेजस्तै सुन्दर पाएँ। प्राकृतिक सौन्दर्य ऐतिहासिक स्थलहरू विश्व प्रसिद्ध साप्ताहिक बजारहरू,  पुराना शहरहरू सबै छ भियतनामसँग।

समुद्र नजिकै पनि निकै धेरै घुम्न लायक पर्यटकीय स्थलहरू रहेछन्।  नेपालमा हुँदा एकपटक एकजना साथीले भियतनामी  परिकार चाख्न लिएर जानुभएको थियो। त्यसैले भियतनाम पुग्दा यहाँका विविध भोजनहरू खान उत्साहित थिए।  तपाईं हाम्रो जिब्रो भन्दा निकै फरक भएपनि यहाँको खाना मलाई चाहिँ  औधी मिठो लाग्यो।भिसा प्रक्रिया र खर्चका हिसाबले पनि भियतनाम घुम्नका लागि त्यति कठिन छैन। प्लेनबाट आउँदा अनअराइभल भिसाको सुविधा छ।  साथसाथै अनलाइन भिसाको आवेदन फारम भर्न पनि निकै सजिलो छ। 

8. ब्राजिल

घुम्नका लागि ब्राजिल पुग्न खोज्ने नेपालीहरू निकै कम होलान्। आजकल त मेरो घुम्ने मात्रै काम छ,  सबै राष्ट्र पुग्ने जमर्को गरेको छु। यसै क्रममा ब्राजिल पनि पुगे। सोचेभन्दा निकै भिन्न लाग्यो ब्राजिल।  साँच्चिकै भन्दा मलाई ब्राजिलमा घुम्नका लागि धेरै ठाउँहरू छैनन् होला जस्तो लागेको थियो तर म गलत रहेछु ब्राजिलमा पर्यटन स्थलहरूको अत्यन्त लामो सूची छ।

छुटाउनै नहुने गन्तव्यहरुमा भने अमेजन फरेस्ट, यो डि जेनेरो, कोपाकाबाना, आदि पर्छन्। समुद्र नघुमेका नेपालीहरूका लागि समुद्र पनि विचित्रकै लाग्छ। मलाई पनि पहिले पहिले समुद्र पुग्दा छुट्टै ग्रहमा आइपुगे जस्तो लाग्थ्यो। ब्राजिलका समुद्र टटहरू पनि घुम्न लायककै छन्। समुद्र किनारमा त मेला नै लागे जस्तो भिड हुने रहेछ।  सायद ब्राजिल अलि गर्मी हुने भएर पनि होला।  ब्राजिलको सांस्कृतिक परिवेश र पुरातात्विक  महत्वका स्थलहरू पनि निहाल्न लायक कै छन्।ब्राजिल देशको भिसा प्रक्रिया भने अलि गाह्रो छ।  हुन त नेपालीहरूलाई सजिलै भिसा लाग्ने देशहरू हातमै गन्न सकिन्छ। तर पनि यस देशका  नागरिकहरूको सहयोगी  भावका कारण मलाई भने भिसा लिन त्यति गाह्रो भएन।

9. ओमान

पूर्वी एसियामा पर्ने ओमान धेरै नेपालीहरूका लागि काम गर्न जाने थलो बनेको छ।  गएका १५ २० वर्षमा नेपालबाट ओमान लगायतका विभिन्न खाडी मुलुक जाने नेपालीहरूको संख्या अनगिन्ती होला।  तर घुम्नका लागि पनि ओमान राम्रो गन्तव्य स्थल हो।ओमान भ्रमण गर्नका लागि भिसा प्रक्रिया भने निकै सजिलो रहेछ।  अनलाइनबाट नै सबै कामहरू फत्य गर्न सकिन्छ।

ओमानको राजधानी मुस्कटका आधुनिक सहरी जीवन, ऐतिहासिक महलहरू, रेतीले ढाकेको समुद्र तथा विभिन्न म्युजियमहरू  अवलोकन गर्दा मन नै आनन्दित भयो। ओमानका विभिन्न सहरमा कैयन वर्ष पुराना गढीहरू र मस्जिदहरू रहेछन्। सुल्तान काबुस मस्जिद धेरै नै लोकप्रिय रहेछ। ओमानको मेरो बसाई धेरै छोटो थियो। त्यसैले कति धेरै ठाउँ त घुम्न नै भ्याइन। तैपनि यस देशका पुरातात्विक  भवनहरू रहनसहन मानिसहरू सबैले कताकता मेरो मनमा छोयो।  त्यही कारण होला मलाई मन परेका १० देशहरुमा ओमान पनि सामेल हुन आइपुग्यो।

 

 

10. पेरु

 

विश्वका सात आश्चर्यहरू मध्येको एक माचुपिचुको देश हो पेरु। माचुपिचुलाई शब्दमा वर्णन गर गर्न सायदै सम्भव होला। इन्का साम्राज्यका अनेकन भौतिक अवशेषहरुले भरिएको माचुपिचु युनेस्को विश्व सम्पदा सूचीमा समेत समाविस्ट छ। यस बाहेक पनि पेरूमा घुम्नका निम्ति अरू थुप्रै मनमोहक स्थलहरु छन्। अमेजन जगंलमा सफारीदेखि नाझा गोरा ट्रेकिगंसम्म – पेरुमा पर्यटकीय गतिविधिहरू अनगिन्ती छन्। ग्यालापोगस आइल्यान्ड पनि घुम्न लाएक कै ठाऊॅ छ। पेरु घुम्न कति सहज लाग्यो, भिसा प्रकिया पनि झन्झट रहित। 

 

आजसम्म म धेरै राष्ट्रहरू पुगेँ। अनगिन्ती ठाउँहरू घुमे,  कैयन मानिसहरूसँग संगत गर्ने अवसर मिल्यो। यी सबै कुरालाई समावेश गरेर एउटा किताब नै निकाल्दा पनि कम पर्छ भन्ने मलाई थाहा छ। तैपनि जानी नजानी मलाई मन परेका १० राष्ट्रहरुका बारेमा लेख्ने प्रयास गरे। यसको मतलब म पुगेका अरू राष्ट्रहरू भने यी १० राष्ट्रभन्दा कम छन् भन्ने होइन। 

 

Leave a Reply