न्युजिल्याण्डमा हिचहाइकिङ!

LINK TO YOUTUBE VIDEO

जीवनका हरेक यात्रा कुनै न कुनै रुपमा यादगार त हुन्छन् नै। यसमा पनि न्युजिल्यान्ड यात्राका क्रममा भने अझै केही फरक अनुभव गर्न पाएँ।

न्युजिल्यान्ड मेरो विश्व यात्राका क्रममा ५४औं गन्तव्य देश थियो। त्यहाँ उत्तर र दक्षिण गरी दुई मुख्य टापुहरू छन्। उत्तरी टापुमा ५ दिनको बसाइँपश्चात पानी जहाजमा राजधानी वेलिंग्टनबाट कुक स्ट्रेट पार गरेर पिक्टन पुगेँ। पिक्टन, पानी जहाजमा जानेलाई दक्षिण न्युजिल्याण्डको प्रवेश बिन्दु हो।

अब मलाई पिक्टनदेखि न्युजिल्याण्डको दोश्रो ठूलो सहर क्राइस्टचर्च पुग्न पर्ने थियो। गुगल म्यापले त्यहाँसम्म पुग्न बस यात्रा सहज हुने सुझाएकाले बस बिसौनीमा पुगेँ। गुगल म्यापकै अनुसार त्यो लगभग ४ घन्टाको दूरी हुनेथियो। दूरी भने नेपालगंजदेखि नारायणगडसम्म जति, नेपालमा यति दूरी तय गर्न केही नभए पनि १२ घन्टा जति लाग्दो हो। जाममा पर्यो भने त अझ कति हो कति।

क्राइस्टचर्चमा मेरा साथी थिए, विश्वास। उनकोमा लगभग १ हप्ता बस्ने तय भएको थियो। त्यसैले उता जाँदै थिएँ।

बस बिसौनी सुनसान जस्तो नै थियो, करिब ३० मिनेटजति बसको बारेमा बुझ्ने कोसिस गरेँ। सबैबाट जवाफ पाएँ, बस आज छैन, अब भोलि बिहान मात्र त्यसतर्फ जानेछ।

बसको भर परेर भएन। कसैसँग लिफ्ट माग्ने जुक्ति फुर्यो। क्राइस्टचर्चको बाटो लागेका केही गाडीलाई रोक्न खोजेँ, कसैले रोक्न चाहेनन्। अर्को ५-१० मिनेट बित्यो। अब त हल्का सिमसिम पानी पनि पर्न थाल्यो, अझै भिझेर भए पनि केही गाडीहरूसँग सहयोग माग्छु भन्ने लाग्यो।

एउटा कालो सिडान गाडी मतिरै आइरहेको थियो। लिफ्ट माग्न हात तेर्साएँ। मनिरै आइपुगेपछि गाडी टक्क रोकियो। गाडी चालकले सिसा तल गरे। उनी पनि एक्लै रहेछन्। मैले बस नभेटेकाले लिफ्ट माग्न परेको छोट्टो वृतान्त सुनाएँ। ‘हप् अन्,’ उनले भने।

मैले काँधको झोला गाडीको पछाडि राखेँ अनि आफू प्यासेन्जरसिटमा बसेँ। संसारको जुनकुनै कुनामा पुगे पनि कोही न कोही सहयोगी र दयालु मानिस पक्कै हुन्छन जस्तो लाग्यो।

यात्रा सुरु भयो, अनि हाम्रो गफगाफ पनि। उनको घर क्राइस्टचर्च नै रहेछ। आफ्ना साथीसँग वेलिंग्टनमा विकेन्ड बिताएर आएका रहेछन्।

विदेशीहरू हप्ताभरि काम गर्ने अनि विकेन्डमा निकै रमाइलो गर्न मन पराउने। नेपालमा अझै यस्तो चलन विकास भइसकेको छैन। हाम्रा लागि त शनिबार भनेको सरसफाइ गर्ने दिन जस्तो हुन्छ।

गफ गर्दै जाँदा थाहा भयो, हामी दुवै जनालाई हिपहप म्युजिक मनपर्ने रहेछ। उनले गाडीमा त्यस्तै संगीत बजाए। हुन त मलाई नेपाली मौलिक गीत मन नपर्ने भने होइन।

गीत सुन्नभन्दा आनन्द त बाटोभरि देखिएको प्राकृतिक सौन्दर्यले दियो। आहा, कति सुन्दर! साँच्चै अद्वितीय। यात्रा अघि बढ्दै जाँदा समुद्रमा केही सिलहरू पनि देखिए। निलो निश्चल पानी, त्यतिकै सुन्दर आकाश, केही पहाडहरू, हावाको वेग पनि उस्तै। पहाडको भिरालोमा थुप्रै भेडा र गाई चरेका देखिन्थे। ती नजिकैका फार्महरूबाट चरणका लागि छाडिएका हुन्। न्युजिल्यान्डको अर्थतन्त्रमा पशु उत्पादन निर्यातमा ठूलो हिस्सा छ। न्युजिल्यान्डको प्राकृतिक बनोट धेरथोर नेपालसँग मिल्छ थाहा पाएको थिएँ।

यात्रा निरन्तर चलिरह्यो। हामी पिक्टनदेखि हिँड्दा करिब पाँच बजेको हुँदो हो। रातिको दश बजे क्राइस्टचर्च आइपुगियो। मलाई लिफ्ट दिएर पहिल्यै ठूलो सहयोग गरेका तिनले मलाई मेरो साथीकै आँगनसम्म पुर्याइदिए। यति धेरै सहयोगी मित्रसँग पनि छुट्टिने बेला आएछ। ‘निकै रमाइलो भयो, तपाईंसँगको यात्रा?’ उनले भने।

उनले मलाई धेरै सहयोग गरिसकेका थिए, ‘मलाई झन् रमाइलो लाग्यो, धेरै धन्यवाद!’ भनें।

गाडीबाट ओर्लिएर आफ्नो आफ्नो बाटो लाग्नु अघि झोलाबाट एउटा पोस्टर झिकेँ, लुम्बिनीको। यो पोस्टर नेपाल टुरिजम बोर्डले प्रकाशन गरेको र त्यहींबाट लिएर गएको थिएँ। बाटोमा केही बेर नेपाल, बुद्ध र लुम्बिनीका विषयमा पनि चर्चा भएको थियो। खुसी हुँदै त्यो पोस्टर स्वीकारे।

पोस्टरसँगै नेपाली पाँच रुपैयाँको नोट पनि थियो, नेपालको र मेरो चिनो स्वरूप। संसारका दुई कुनाका हामी संयोगले भेट्यौं, छोटो समयमा पनि राम्रै मित्रता भयो, त्यसैको प्रतिक थियो यो पोस्टर।

छुट्नै लाग्दा विश्व यात्राका निम्ति उनले मलाई शुभकामना दिए। ‘किप इन टच्’ भनेर इन्स्टाग्राममा जोडिएर उनी आफ्नो बाटो लागे।

सुन्दा सामान्य लागे पनि यस्तै छोटामिठा अनुभवले यात्रालाई अविस्मरणीय बनाउँछन्। मेरो न्युजिल्यान्डको हिचहाइकिङ पनि यस्तै रह्यो, अविस्मरणीय।

Link to setopati

(लेखक एक विश्व यात्री हुन् र यात्राको क्रममा ७४ औं देशअन्तर्गत सेन्ट्रल अमेरिकी देश कोस्टारिकामा छन्।)