Cambodia trip: I had never seen such a ‘tuk-tuk’ ride before!

Published in setopati.com

कम्बोडिया यात्रा: यस्तो ‘टुकटुक’ अन्त कतै देखेकै थिइनँ!

मध्यरात करिब १२ः३० बजे राजधानी प्नोम पेनमा, कम्बोडियाको दोस्रो ठूलो सहर सिम रेअपका लागि बस चढ्यौं। 

उक्त बसमा सबै सिट बस्ने नभई सुत्न मिल्ने स्लिपिङ खालका थिए। बसमा रहेको चार्ज प्यानलमा फोनलाई चार्जमा छोडेर कुन बेला निदाइयो पत्तो भएन।

उठ्दा बिहानको ५:५० भएछ, ३०० किलो मिटरको यात्रा करिब साढे ५ घन्टामा पुगिएछ। त्यहाँको अटो चढी ७ बजे अगावै होटल पुगियो। अहिले चेक-इन गर्ने भए ‘अर्ली चेक-इन’ भनेर ८ डलर अतिरिक्त तिर्नुपर्ने भयो। बुकिङ डट कममा करिब १६ डलर तिरेको उक्त होटल, ४ तारे भनिएको थियो। अरू उपाय रहेन, ८ डलर होटलमा तिरी चेक-इन भई आराम गर्यौं। उठ्दा करिब ११ बजेछ। सिम रेअप सहरमा बसाइ २ दिन मात्रै रहेकोले, उक्त पहिलो दिन कम्बोडिया पुग्दा पुग्नै पर्ने अंग्कोर वाट नै जाने निर्णय गर्यौं।

विश्वयात्रा अन्तरगत ५२ औं देश कम्बोडियामा थिएँ। ५१ औं देश भियतनामको ठूलो सहर हो चि मिनबाट २ दिन अघि मात्र कम्बोडिया पुगेको, २ दिन प्नोम पेनमै बसी अंग्कोर वाट हेर्न सिम रेअप गएका थियौं। नेपालबाटै एक जना भिडिओग्राफर भाइ अशोक पाठक पनि यात्रामा सँगै थिए।

होटलमै बुझ्दा उनीहरूले १५ डलरमा टुकटुक (अटो रिक्सा) मा जाने आउने व्यवस्था गरिदिने रहेछन्। उक्त रकममा हामी त्यहाँ घुम्ने बेलासम्म सँगै बस्ने, नजिकको अरू ठाउँ लगिदिने र बेलुका सूर्यास्त हेरी सँगै फर्किने रहेछन्। 

७-८ किमी जान अरू साधन त्योभन्दा महँगो नै पर्ने भयो। टुकटुकको अगाडि मोटर साइकलकै जस्तो र पछाडि मान्छे बस्न मिल्ने रहेछ। कम्बोडियामा देखिएको यस्तो टुकटुक अन्त कतै देखेको थिएन।  

बाटोमा खाना खाएर अंग्कोर वाटतिर लागियो। प्रवेश शुल्क एक जनाको ३७ डलर लाग्ने रहेछ, मैले मोबाइलबाट अनलाइनमा ७४ डलरको दुइटा टिकट बुक गरें। हामी त्यहाँ पुग्दा २ बजिसकेको थियो। संसारकै ठूलो धार्मिक स्थल अंग्कोर वाट सन् ११ औं शताब्दीमा बनेको मन्दिर परिसर हो, जहाँ धेरै मन्दिरहरू सँगै रहेका छन्। 

५:३० मा बन्द हुने उक्त क्षेत्र, त्यति ठूलो ठाउँ घुम्न हामी अलि छिटो पाइला चाल्नुपर्ने भयो।

मैले अंग्कोर वाटको बारेमा थाहा पाएदेखि यो ठाउँ पुग्न र यसको इतिहास राम्ररी बुझ्न मन थियो। धेरै जानकारी पाइएला भनि १० डलरमा गाइड लिने भयौं। 

सन् १११३ मा राजा सूर्यवर्मन द्वितीयले एक ब्राह्मण, दिवकरपन्दितको सल्लाहमा हिन्दु भगवान विष्णुप्रति समर्पित गर्दै यो परिसर बनाउन लगाएका थिए। पछिका केही शताब्दीमा यसलाई बौद्ध धार्मिक स्थल बनाइयो र हाल यहाँ बौद्ध धर्मावलम्बीका भिक्षुहरू बस्छन्।

सन् ११५० मा ३७ वर्ष यसमा निर्माण कार्य सकियो। पूरै अंग्कोर सहरमा इजिप्टका समग्र पिरामिडमाभन्दा धेरै ढुंगा प्रयोग छन्। निर्माण गर्दा यसका ढुंगाहरू ४० किमी टाढा रहेको कुलेन पहाडबाट ल्याइने रहेछ। त्यो बेला हात्ती प्रयोग गरी ढुंगा पहाडमा फुटाइने रहेछ र नजिकै को टोन्ले साप ताल हुँदै निर्माण स्थल पुर्याइने रहेछ। ढुंगा २ किसिमका रहेछन्, स्याण्ड स्टोन र लाभा स्टोन, स्याण्ड स्टोन जमिनमाथि बन्ने ढुंगा रहेछ भने लाभा स्टोन ज्वालामुखीबाट निस्कने चट्टान रहेछ। निर्माणपश्चात् हालसम्म धेरै पटक यसमा परिवर्तन भएका छन् तर १५८६ मा त्यहाँ हेर्न पुगेका पहिलो बिदेशी, पोतुगिज एन्टोनियो मदलेनाले यसलाई ‘कलममा वर्णन गर्न नसकिने र संसारमा कतै नभएको जस्तो भवन, साथै मानव प्रतिभाले कल्पना गर्न सक्ने सबै सजावट र टावरहरू छन्’ भनेका छन्।

घुम्दै जाँदा पुस्तकालय, अनि हिन्दु मठ-मन्दिरको अघि हुने दुई पोखरीहरू प्रांगणमा देखियो। 

२२५ मि. लम्बाइ र १६७ मि. चौडाइमा फैलिएको मुख्य मन्दिरको भित्तामा रामायण र महाभारतका स्लोकहरू कुदिएको थियो, जसमा महाभारतको युद्धदेखि रामायणमा हनुमान, राम, सीता, रावणबारे सम्पूर्ण कथा चित्रमा आकृति बनाइएको थियो। 

मेसिन नभएको त्यो बेला कसरी एकदम सही ढंगले कुदियो भन्ने धेरैलाई अपत्यारिलो विषय छ। परिसरको केन्द्रमा ५ वटा अग्ला टावर छन्, जसमध्ये अग्लो ६३ मि. अग्लो छ र कम्बोडिया सरकारले उक्त मन्दिर क्षेत्रको ११ कि.मी वृत्तभित्र त्यस मन्दिरभन्दा अग्लो घर बनाउन निषेध गरेको रहेछ।

तर यस्तो भव्य हिन्दु धार्मिक स्थललाई किन बौद्धस्थल बनाइयो त?

अन्ग्कोर वाट बनाएका सूर्यवर्मन द्वितीयको ११५० मा मृत्युपश्चात, २७ वर्षपछि अन्ग्कोर वाटलाई चाम्सहरूले बर्खास्त गरेका थिए। त्यसपछि साम्राज्यलाई नयाँ राजा जयवर्मन सातौंद्वारा पुनर्स्थापित गरियो, जसले केही किलोमिटर उत्तरमा नयाँ राजधानी र राज्य मन्दिर (क्रमशः अन्ग्कोर थोम र बेयोन) स्थापना गरे। हिन्दु देवताहरूले उनलाई असफल बनाएको उनको विश्वासको परिणाम स्वरूप, उनै जयवर्मन सातौंले नयाँ बौद्ध मन्दिर निर्माण गरेका थिए। 

उनले अंगकोर वाटको पुनर्निर्माण गरे र यसलाई बौद्ध मन्दिरमा परिणत गरे। सबै हिन्दु देवताहरूको मूर्तिहरू बौद्ध कलाको साथ प्रतिस्थापित गरियो। पछि, बौद्धहरूले यसलाई प्रयोग गरे, जुन अझै पनि विश्वको सबैभन्दा ठूलो बौद्ध तीर्थस्थल हो।

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९, १७:४०:००